काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकोले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी गरेका छन् । उनले अहिलेको सरकारले अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।
आजबाट सुरु भएको संसद्को अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको बहलमा संसद्को हुर्मत लिएको साहको आरोप छ । उनले भने,‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईंहरुले बाँडफाँट गर्नुभयो, तपाईंहरुले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो, सांसदहरुको भागबण्डा पनि तपाईंहरुले लगाउनुभयो, दुई तिहाईको उपस्थिति पनि तपाईंहरुकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ? यो मिल्छ कि मिल्दैन नैतिकताले ? म सोध्न चाहन्छु ।’
उनले विपरित पक्षहरु मिलेर बनेको सरकारलाई लोकतन्त्र भन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधे । उनले भने,‘विधि र विधानलाई नमान्ने सरकारलाई लोकतन्त्र भन्न मिल्छ ? संसद्बाट डराउनेलाई लोकतन्त्र भन्छ ? अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ ? तपाईं कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ ?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याविनेटका निर्णयमाथि भ्रष्टाचारको छानबिनको लागि किन तयार नभएको भनेरपनि प्रश्न गरे ।
उनले अहिले भ्रष्टाचार दिनदिनै बढिरहेको बताए । उनले प्रधानमन्त्री ओलीको नाम जोडिएका विभिन्न भ्रष्टाचारका काण्डको छानबिन गर्नपनि माग गरे । उनले अहिलेको सरकार बलियो भएको भए प्रधानमन्त्रीले किन सरकार ढल्दैन भनेर हप्तैपिच्छे भाषण गर्नुपर्यो र यति महिनापछि सरकार छोड्छु भन्नुपर्यो भन्दै प्रश्न गरे । उनले यो सरकार गठन भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुरै विथोलिएको आरोप लगाए ।