एमसीसीबारे सरकारको धारणा प्रष्ट छ : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको धारणा प्रष्ट रहेको बताएका छन् ।बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले एमसीसी बारेको प्रस्ताव गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको बताए ।

उनले भने ‘हाम्रो पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं,अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो । हाम्रो म्याण्डेट पनि त्यतिनै हो । दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं ।’ नेकपाले झलनाथ खनालको संयोजकत्वमा प्रदिप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको आगामी बैठक बिहीबार बस्ने उनले जानकारी दिए ।

फागुन ५ देखि ७ गतेसम्मको औपचारिक भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच ब्यापार,पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा महत्वपूर्ण छलफल भएको उनको भनाई छ ।