अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको माओवादीको निष्कर्ष, अस्वीकारको सूचना दर्ता गरिने

अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको माओवादीको निष्कर्ष, अस्वीकारको सूचना दर्ता गरिने

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनजीविकाका सवाललाई सदनमा सशक्त ढङ्गले उठाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘छ अध्यादेश जसरी आएका छन्, प्रक्रियागत हिसाबले बेठीक छन्, यसलाई अस्वीकार गर्ने सूचना दर्ता गर्ने र वर्तमान सरकार गठन हुँदा व्यक्त गरिएका प्रतिबद्धता लागू तथा जनजीविकाका सबाल सम्बोधन गर्न दबाब दिने निर्णय भएको छ,’– उनले भने ।

बैठकमा पार्टी अध्यक्ष दाहालले सदनमा सशक्त ढङ्गले प्रस्तुत हुन र जनताका मुद्दालाई प्राथमिकता दिएर उठाउन निर्देशन दिएको प्रमुख सचेतक पाण्डेले बताए । दलका नेताका रुपमा अध्यक्ष दाहालले अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने पाण्डेले बताए ।