विपिन जोशी गाजामै रहेको पुष्टि, रिहा हुने सूचीमा उनको पनि नाम

विपिन जोशी गाजामै रहेको पुष्टि, रिहा हुने सूचीमा उनको पनि नाम

काठमाडौँ । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ ।

उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार आज (बिहीबार) तीन इजरायली र पाँच थाई नागरिकलाई हमासले रिहा गर्दैछ । २० वर्षीय इजरायली सैनिक अगम बर्गर, २९ वर्षीया महिला अर्बेल येहुद ८० वर्षका गदी मोशे मोजेस छन् ।

रिहा हुन लागेका तीन इजरायली नागरिक । पाँच थाईको नाम भने उल्लेख गरिएको छैन । विपिनको रिहाइ कहिले हुने भन्ने समाचारमा उल्लेख छैन । ‘हमासले तीन इजरायली र पाँच थाई बन्धकलाई मुक्त गर्ने पुष्टि गरेको छ, गाजामा अझै आठ थाई बन्धक छन्, त्यसका साथै एक नेपली र एक तन्जानियाली नागरिक पनि छन् । यद्यपि, इजरायलले दुई थाई नागरिक र तन्जानियाली नागरिक भने जीवित नरहेको घोषणा गरेको छ,’ समाचारमा उल्लेख छ ।

इजरायल–हमास युद्धविराम भएसँगै दुवै तर्फका बन्धक रिहाइको प्रक्रिया चलिरहेको छ । हालसम्म प्यालेस्टिनी सशस्त्र संगठन हमासले बन्धक बनाएका १५७ जना रिहा भइसकेका छन् । यद्यपि नेपाली युवा विपिन जोशी भने हालसम्म रिहाइ भएका छैनन् ।

यसैबीच रिहाइको माग गर्दै बन्धकका परिवारले सार्वजनिक गरेको ९७ जनाको सूची सार्वजनिक गरेको थियो । ५८औं नम्बरमा नेपाली युवा विपिन जोशीको नाम पनि रहेको पाइएको छ ।

सन् २०२३ को अक्टोबर ७ देखि बेपत्ता रहेका विपिनको अवस्था यसअघि भने अज्ञात थियो ।