दलीय आग्रहले लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताएका छन् ।

७०औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ । तर, दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन ।

काठमाडौंको टुँडिखेलमा ७० औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । ओलीले मुलुकको आर्थिक विकासमा पनि बाधा उत्पन्न भएको आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्।

समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ, उनले भने,विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरूलाई निरुत्साहित पार्ने, विकास प्रयासहरमा व्यवधान गर्ने । यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं।

आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन। २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं। जनताको बलिदानपूर्ण संघर्षबाट इतिहासमा अङ्कित यस गौरवमय दिनको सम्झना र सम्मानमा हामी आज यहाँ उपस्थित भएका छौं।

हरेक वर्ष फागुन ७ गतेलाई हामीले प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएका छौं। आज हामी ७० औं प्रजातन्त्र दिवस मनाइरहेका छौं। प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रूपमा हामी यस दिनलाई स्मरण गर्दछौं। आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौं।

राष्ट्रको आजको यस अभियानलाई अनुप्राणित गर्ने लक्ष्यको बिजारोपण आजभन्दा ७० वर्षअघि आजकै दिन, अर्थात् फागुन ७ गते भएको थियो। त्यसैले औपचारिकता निर्वाहबाट माथि उठेर यस दिनको गरिमालाई आत्मसात गर्न म दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु। यसले इतिहासप्रतिको गौरव, वर्तमानप्रतिको क्रियाशील जिम्मेवारी र भविष्यप्र्रतिको उत्तरदायित्वलाई सामाजिक भाष्यको रुपमा विकास गर्नेछ।

आजको दिन, प्रजातान्त्रिक हक–अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने बीर बीरङ्गनाहरूको स्मरण गर्ने दिन हो। आजको दिन, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो। आजको दिन, प्रजातन्त्र लोकतन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्ष मार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि संकल्प गर्ने दिन पनि हो।