काठमाडौं । अमेरिकाबाट निकालिएका अवैध आप्रवासीहरुलाई फिर्ता ल्याउन कोलम्बिया सरकार तयार भएको छ । यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा हवाईजहाजलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा प्रतिबन्ध पनि लगाउने धम्की दिएपछि अवैध रुपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।
ट्रम्पको धम्कीपछि आप्रवासीहरुलाई ल्याउन अमेरिकी देश होन्डुरसमा हवाईजहाज पठाउन कोलम्बिया तयार भएको हो । ट्रम्पको धम्कीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरुलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका थिए । साथै अमेरिकी बस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि उनले गरेका थिए । तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो ।
राष्ट्रपति बनेदेखि नै ट्रम्प आप्रवासीका मुद्दामा कठोर बन्दै आएका छन् । उनले अवैध आप्रवासी फिर्ता अभियान सुरु गरिसकेका छन् ।
अवैध रुपमा अमेरिका घुस्ने र फिर्ता हुनेमा कोलम्बिया पाँचौं स्थानमा छ । कोलम्बियाभन्दा अगाडि ग्वाटेमाला, होन्डुरस, मेक्सिको र एलसाल्भाडोर छन् । केही नेपालीहरु पनि अवैध तरिकाले यिनै देश हुँदै अमेरिका पुग्ने गरेको पाइएको छ । उनीहरु मेक्सिकोको सिमानाबाट अमेरिका घुस्ने गरेका छन् ।
केही वर्षयता कोलम्बियाका एक लाख २७ हजार भन्दा बढी नागरिक अमेरिकामा अवैध रुपमा घुसेको आरोपमा पक्राउ परेका छन् । त्यस्ता अवैध आप्रवासीहरुलाई अमेरिकाले उनीहरुकै देश फिर्ता पठाइरहेको छ । ट्रम्पको यो नीतिले नेपालीलाई समेत असर गर्ने देखिन्छ ।