काठमाडौं। पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख गठी गरेको आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल धरौटी बुझाएर रिहा भएका छन्।
बिहीबार जिल्ला अदालत मोरङले पोखरेलसँग ५ लाख धरौटी मागेको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनिलसँग धरौटी मागेको थियो। अदालतको आदेशलगत्तै धरौटी बुझाएर उनीरिहा भएका छन्।
पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो। ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो।
अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। सो प्रकरण सार्वजनिक भएलगत्तै सभापति पोखरेलले अनिललाई आफ्नो स्वकीय सचिवबाट बर्खास्त गरेका थिए।