भीम रावलले टुंग्याए पार्टीको नाम, कर्ण थापालाई लिएर धनगढी पुग्दा कार्यकर्ताको स्वागत

भीम रावलले टुंग्याए पार्टीको नाम, कर्ण थापालाई लिएर धनगढी पुग्दा कार्यकर्ताको स्वागत

काठमाडौं। हालै सत्तारुढ दल नेकपा एमालेबाट निस्कासितमा परेका नेता डा भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन्। बिहीबार उनले पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन्। उनको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहनेछ।

इमान्दार र देशभक्त नेपालीहरु तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरुसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल नाम प्रस्ताव गरिएको रावलको भनाइ छ। यसमा सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरुको सहभागिता, समर्थन र सहयोगको अपेक्षा गरिएको उनले बताएका छन्।

बिहीबारमात्र पार्टीको नाम सार्वजनिक गरेका रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका छन्। उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन्। धनगढी विमानस्थलमा उनीनिकटहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजीसमेत गरेका थिए।

काठमाडौंबाट धनगढीसम्म एमाले नेता तथा पूर्व मन्त्री कर्ण थापा र नेता रावलसँगै सिटमा बसेर पुगेका छन्। शुक्रबार बिहान उनीहरू काठमाडौंबाट धनगढी उडेका थिए। भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन्।