ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ। मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो।

मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो। 'एक व्यक्तिले दुर्व्यवहार गरेको हो। सामान्य घटना भएको हो। गोरखाको पोखरेल थरका व्यक्ति रहेछन्। मानसिक समस्या भएको व्यक्ति रहेछ,' मन्त्री खड्काले घटनाबारे जानकारी दिँदै भने, 'सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई समातेका थिए । मानसिक समस्या भएको व्यक्ति भनेपछि छोड्न भनेको हूँ।'


घटना हाे, पुस २६ गते शुक्रबारको। याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए । मन्त्री खड्काले बैठकमा भनेका थिए, 'गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो । गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुर्व्यवहार गरे।'

कान्तिपुरबाट