प्रतिपक्षी दलहरुको निष्कर्षः अध्यादेशमार्फत शासन गर्ने सरकारको स्वैच्छाचारी रवैया गलत

प्रतिपक्षी दलहरुको निष्कर्षः अध्यादेशमार्फत शासन गर्ने सरकारको स्वैच्छाचारी रवैया गलत

काठमाडौं। प्रतिपक्षी दलहरुको बैठकले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेर स्वैच्छाचारी रवैया देखाएको निष्कर्ष निकालेको छ । आज (बुधबार) प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दलहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा ६ दलका नेताहरुको सहभागिता थियो । बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको स्वैच्छाचारी रवैयाको विरुद्धमा सबै छ दलको चिन्ता र चासो रहेको बताए । उनले सरकारको स्वैच्छाचारी रवैया बेठीक रहेको सबै दलका नेताहरुको निष्कर्ष रहेको सुनाए ।


‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत सरकार सञ्चालन गर्ने प्रवृत्ति, जो रबैया देखाएको छ, त्यसमा हामी छ दलहरु एकै ठाउँमा रहेका छौं । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वैच्छाचारी बन्दै गएको छ, संसद्लाई छल्न खोजेको छ, अधिवेशन बोलाउन छाडेर अध्यादेश जारी भएका छन् । यसमा सरकारको यो रवैया बेठीक भयो, यो स्वैच्छाचारी रवैया हो भन्ने सबैको साझा निष्कर्ष छ,’– उनले भने ।

सरकारले नियमित अधिवेशन छिटोभन्दा छिटो बोलाओस् भन्ने सबै प्रतिपक्षी दलको माग रहेको पनि नेता पुनले बताए । ‘यदि सरकारले अझैपनि संसद्लाई, जनप्रतिनिधि संस्थालाई छलेर काम गर्छ भने प्रतिपक्षी दलहरुको तर्फबाट आवस्यक पर्यो भने हामी विशेष अधिवेशनको माग गर्नेसम्म हामी तयारी गरिराखेका छौं । तयारी गर्नुपर्छ भन्ने हाम्रो समझदारी बनेको छ,’– उनले भने ।

बैंठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा महँगी बढेर गइरहेको, भ्रष्टाचार अनियन्त्रित भइरहेको, स्वैच्छाचारिता बढ्दै गएको, दुई ठूला दलहरुले गणितीय दम्भको आधारमा जनताका भावनाविपरीतका कामहरु गरिरहेको निष्कर्ष निकालेको छ ।

साथै, साना दलहरुको आवाज कमजोर पार्ने, जनताको सहभागितालाई अझ कमजोर बनाउने गरी दलसम्बन्धी विधेयक तयार भइरहेको बैठकले निष्कर्ष निकालेको उपमहासचिव पुनले बताए । सरकारले लोकतन्त्रको सुन्दरताको रुपमा रहेको समावेशितालाई कमजोर बनाउने र देशलाई दुई दलीय व्यवस्थातिर लैजाने प्रयत्न भइरहेको उपमहासचिव पुनले बताए । उपमहासचिव पुनका अनुसार यी विषयमा प्रतिपक्षी दलहरुको साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय भएको छ ।