रविको बयान आज नसकिए के हुन्छ ?

रविको बयान आज नसकिए के हुन्छ ?

काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मि सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा रास्वपाका सभापति रवि लामिछानेको बयान चलिरहेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको बयान चलिरहेको हो ।

लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सातै जना प्रतिवादीलाई धरौटीमा छाडेको थियो । रवि ६५ लाख धरौटी तिरेर आज जिल्ला अदालत आफैं हाजिर हुने शर्तमा छुटेका थिए ।

बिहीबारको शर्तअनुरुप नै लामिछाने बिहान ९ बजेनै जिल्ला अदालत हाजिर भएका थिए । ९ बजेनै जिल्ला अदालत पुगेपछि लामिछानेको बयान ढिलो गरि सुरु भएको छ । अदालत स्रोतका अनुसार रविको बयान आज नसकिएमा हिरासतमा पठाईनेछ । बयान सकिएमा भने थुनछेक बहस सुरु हुने अदालत स्रोतको भनाइ छ ।

उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । सो सहकारीमा मुछिएका सातै जनालाई धरौटी माग गरिएको थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।