ओलीको निर्देशन: कसैको वैशाखी नटेकी स्ववियु निर्वाचनमा मैदानमा उत्रिएर जित्नू

ओलीको निर्देशन: कसैको वैशाखी नटेकी स्ववियु निर्वाचनमा मैदानमा उत्रिएर जित्नू

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेस्ववियु) लाई निर्देशन दिएका छन् ।


अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैशाखी नटेकी आफै दौडिएर पदक जित्ने गरेका उदाहरण प्रस्तुत गर्दै एक्लै लडेर सबै ठाउँमा जित्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिएका छन् । नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै उनले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी नै आफ्नो पार्टी एमाले भएको स्पष्ट गरेका थिए ।

अध्यक्ष ओलीले एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर रहेको बताए । एमालेलाई मार्छौं र सिध्याउँछौं भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको ओलीले बताएका थिए ।

‘खै एमाले ?, कहाँ छ एमाले ? भन्नेहरूलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ’, अध्यक्ष ओलीले भने ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरूपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु’ ।

कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियु अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ ।