प्रचण्डलाई पनि श्रम शिविरमा खटाउनुपर्ने राय, विशेष महाधिवेशनबारे मिश्रित धारणा

प्रचण्डलाई पनि श्रम शिविरमा खटाउनुपर्ने राय, विशेष महाधिवेशनबारे मिश्रित धारणा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । दोस्रो दिन आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केन्द्रीत रहेर ८० जना सदस्यले आफ्नो धारणा राखेको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा नेताहरुको जीवनशैली र चरित्रका बारेमा पनि सदस्यहरुले प्रश्न उठाएका थिए । प्रवक्ता सापकोटाले नेताहरुको जीवनशैली खुल्ला पुस्तकको पानाजस्तै हुनुपर्ने र उच्च नैतिक चरित्र हुनपर्नेमा सबैले वक्ताहरुले समान धारणा राखेका थिए ।


‘आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरुले बोल्नुभयो । सबैको के छ भने– प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्छ भन्ने छ । हाम्रो जीवनशैली खुल्ला पुस्तकको पानाजस्तो हुनुपर्छ, पारदर्शी हुनुपर्छ । उच्च नैतिक चरित्र र सबैको विश्वास जित्नेखालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ,’– उनले भने ।

त्यस्तै, अध्यक्ष प्रचण्डसहित सबै नेता तथा कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने सदस्यहरुको सुझाव छ । प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तीमा पनि महिनामा ३ पल्ट अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ । दण्डहीनताको अन्त्य गरिनुपर्ने भन्ने छ ।’

त्यस्तै, महाधिवेशनको बारेमा मिश्रित प्रतिकृया आएको र पहिचानको कुरामा दृढ भएर उभिनुपर्ने, संघीयताको सवालमा मजबुद ढंगले आवाज उठाउनुपर्नेलगायतका कुरा माओवादीको केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको बताइएको छ । नेताहरुले माओवादीलाई ऐतिहासिक अवसर आएको र गुम्न दिन नहुने धारणा राखेको उपाध्यक्ष सापकोटाले बताए । ‘पार्टी एकतावद्ध हुनुपर्छ । पार्टी एकतावद्ध भएर अगाडि जानुपर्छ भन्ने कुरामा सबैको एक स्वर छ,’– उपाध्यक्ष सापकोटाले भने ।