सर्वोच्च बार एशोसिएनको अध्यक्षमा मेघराज पोख्रेल निर्वाचित

सर्वोच्च बार एशोसिएनको अध्यक्षमा मेघराज पोख्रेल निर्वाचित

काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोख्रेल भारी मतले निर्वाचित भएका छन्। पोख्रेल ३ सय ६८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १ सय ८१ मत ल्याएका छन्। यस्तै, अध्यक्षका अर्का उम्मेदवार प्रेमसिंह धामीले जम्मा १५ मत ल्याए ।


अध्यक्षमा निर्वाचित वरिष्ठ अधिवक्ता पोख्रेल कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील कानुन व्यवसायी संगठन (एसपिएलए) को प्यालनबाट अध्यक्षको उम्मेदवार बनेका थिए। पोख्रेलसँग पराजित थापा भने एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।

यस्तै, उपाध्यक्षमा पोख्रेल प्यानलबाट एसपीएलएका अम्बरबहादुर राउत विजयी भएका छन्। राउतले ३ सय ४६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी पीपीएलएका भिष्मराज कडरियाले १ सय ७३ मत ल्याए।

सचिवमा रमणकुमार कर्ण विजयी भए। उनले ३ सय ३९ मत ल्याएका छन्। उनीपनि पोख्रेलकै प्यानलबाट उम्मेद्वार थिए । महिला सह-सचिव पनि पोख्रेल प्यानलकै पुन्देवी महर्जन (सुजना) र कोषाध्यक्षमा डिएलएका रामचन्द्र पौडेल विजयी भएका छन्। सहसचिवमा महर्जनले ३ सय ३७ र कोषाध्यक्षमा पौडेल ३ सय ४३ मत ल्याएर विजयी भएका हुन्।

महिला सदस्यमा पोख्रेलको प्यानलकै शशि बस्नेत निर्वाचित भएकी छिन्। उनले ३ सय १७ मत ल्याएर विजयी भएकी हुन्। सदस्यमा पोख्रेलको प्यानलबाट दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदिपकुमार राजवंशी निर्वाचित भएका छन्।

अर्का एक सदस्यमा भने थापा प्यानलका सतिशराज मैनालीले जित निकालेका छन् । उनी माओवादी केन्द्रनिकट कानून व्यवसायी हुन् ।