राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी चैत्र महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय गरेको छ।
शनिबार काठमाडौंमा सम्पन्न राप्रपा नेपालको केन्द्रीय समितिको बैठकले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापना, भ्रष्टाचार नियन्त्रणका निम्ति जनलोकपालको व्यवस्था, संकटग्रस्त सहकारी संस्थाहरुको राष्ट्रियकरण लगाएतका माग राखेर चैत्र महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २०८२ साल मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले समान बिचारधारा भएका दल वा समूहसँग सकेसम्म एकता गर्ने तथा एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।
बैठकले संविधान संशोधनका नाममा दुई दलीय व्यवस्था कायम गर्न खोजेको भन्दै विरोध जनाएको छ। संविधान संशोधन गर्नै परेर धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र हटाउनेबारे साहस देखाउन बैठकले प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
एजेण्डाको सुरक्षाको ग्यारेन्टी भए बिगतका त्रुटी सच्चाउदै एकता गर्न सकिने र नेतृत्वमा पनि लचक हुन सकिने अध्यक्ष थापाले बताउनुभयो। त्यस्तै उनले पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ सम्पन्न गर्ने उल्लेख गरे।
उनले जनताको अभिमत लिनका लागि केन्द्रीय नेताहरु जिल्ला जिल्लामा जाने बताए। बैठकले संवैधानिक अंग र न्यायपालिकामा हुने नियुक्तिमा राजनीतिकरण र पार्टीगत भागवण्डा अन्त्य गर्न उक्त क्षेत्रमा आमूल सुधार गर्न पनि माग गरेको छ।