संघीय सदनका १४ विषयगत समितिमा १९ वटा विधेयकहरु विचाराधीन

संघीय सदनका १४ विषयगत समितिमा १९ वटा विधेयकहरु विचाराधीन

काठमाडौं। यतिबेला संघीय संसद् अन्तर्गतका १४ वटा विषयगत समितिमा १९ वटा विधेयकहरु विचाराधीन छन्। ती मध्ये प्रतिनिधिसभा अन्तरगतका समितिमा १५ र राष्ट्रियसभाको विधायन समितिमा चारवटा रहेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एक वटा विधेयक विचाराधीन छन्।

सबैभन्दा बढी अर्थ समितिमा पाँच वटा विधेयकहरु विचाराधीन छन्। भन्सार विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक, सुरक्षित कारोबार विधेयक, धितोपत्र सम्बन्धी विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक विचाराधीन छन्।
राज्यव्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक र सङ्घीय निजामती सेवा विधेयक विचाराधीन छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छलफलका क्रममा छन् ।पूर्वाधार विकास समितिमा विद्युत् विधेयक र जलस्रोत विधेयक, त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक विचाराधीन छन् ।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिमा चारवटा विधेयकहरु विचाराधीन छन् । समितिमा मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी परिषद ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् । त्यसमध्य दुइओटा विधेयक समितिले पास गरेको छ भने दुइ ओटा विधेयकमाथिको छलफल अन्तिम चरणमा पुगेको बताइएको छ ।