काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए। उनले स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष एक पदमा महिला हुनुपर्ने व्यवस्थाले स्थानीय तहको कामकारबाही राम्रो भएको धारणा राखे।
हिजोका दिनमा छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो। उनले व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी रहेको बताए। स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि रहेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे। कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।