काठमाडाैँ । नेकपा (एमाले) ले सरकारको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा एमालेले सरकारको ६ महिनाको कामको समीक्षा गरेको हो।‘नेकपा (एमाले) को निष्कर्ष के हो भने यतिमात्रै काम पर्याप्त छैन। सरकारले अझ बढी पुस गरोस्, सरकारले अझ बढी गति देओस्, दुईवटा दल मिलेर बनेको, अरू पार्टीको समर्थनमा समेत बनेको शक्तिशाली सरकार हो। त्यसले त्यहीअनुरूप नै प्रभावकारी ढंगले दिनुपर्छ भनेर हामीले सुझाव दिएका छौं,’ उनले भने।
यसबीचमा सरकारले दुई राजनीतिक दलको बीचमा विश्वासको वातावरण बनाउँदै स्थिरताको सन्देश दिन सकेको उनले बताए। अर्थतन्त्र अपेक्षित रूपमा प्रगति नभए पनि गएको चौमासिकमा अघिल्लो चौमासिकको तुलनामा १७ प्रतिशत राजस्व वृद्धि भएको उनले बताए।
‘शेयर बजार माथि नै छ। लगानी, वैदेशिक सहायता, ऋण, निजी क्षेत्रमा लगानी बढेको छ। आर्थिक क्षेत्रमा अगाडि बढेको छ। बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा प्रगति भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। आयोग बन्न ढिलाइ भएको छ। त्यसलाई तीव्रता दिनुपर्छ। सम्बन्धलाई सन्तुलनमा राख्ने र सहकारी क्षेत्रमा देखिएको बेथिति रोक्न सरकारले काम गरिरहेको छ। एकातिर यसबीचमा ६ हजार बचतकर्ताको एक अर्ब ५७ करोड वचत रकम सम्पूर्णरूपले फिर्ता गरेको छ,’ उनले भने।
यसबीचमा करिब ८ हजार बचतकर्ताको आंशिक बचत फिर्ता भएको उनले बताए। करिब ६२ हजार बचतकर्ताको उजुरी रहेको र त्यसमध्ये १५–१६ हजारको सम्बोधन भएको उनको दाबी छ। ‘यसरी वचतकर्ताको बचत फिर्ता, अनियमितता गर्नेलाई कारबाही, उच्चस्तरीय प्राधिकरण गर्ने, भविष्यमा यस्तो नहोस् भनेर नियमन गर्ने कुरा सकारात्मक छन्,’ उनले भने।