एमाले सचिवालय बैठक

एमाले सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?

एमाले सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने गौतमले बताए। पुस २१ र २२ गतेका लागि एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। 

केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामका बारेमा समीक्षा हुनेछ। पार्टीको सांगठनिक कामको पनि समीक्षा हुने पार्टीका नेताहरूले बताएका छन्। स्थानीय तहको उपनिर्वाचनमा पार्टीले सोचेअनुरुप परिणाम नआएको एमालेले प्रारम्भिक विश्लेषण छ।

एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ। यस अगाडि केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो। गत पौष १० गते सचिवालय बैठकले एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्काशन गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार रावलले निरन्तर पार्टी हित विपरीत गतिविधि गरेपछि रावललाई साधारण सदस्य समेत नरहने गरी कारबाही र स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको गरेको हो।