कारको ठक्करबाट अमेरिकामा १० को मृत्यु, ३० घाइते

कारको ठक्करबाट अमेरिकामा १० को मृत्यु, ३० घाइते

काठमाडौं। अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले चलाएको कारको ठक्करबाट कम्तीमा १० जनाको मृत्यु भएको । ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन्।

नयाँ वर्षको पहिलो दिन घटना भएको हो। मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार घटना आतंकवादसँग सम्बन्ध रहे–नरहेको अनुसन्धान भइरहेको छ।

मानिसहरूको घुइँचोलाई लक्षित गर्दै ती व्यक्तिले कार हुइँकाएका थिए । घटना भएको स्थान न्यू अर्लिन्सको एक लोकप्रिय रात्रिजीवन गन्तव्य हो । त्यहाँ मानिसहरू नयाँ वर्षको स्वागतमा रमाइरहेका थिए। न्यू अर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले भने शहर ‘आतंकवादी हमलाबाट प्रभावित’ भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

समाचार संस्था सीएनएनले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मानिसहरूमाथि कार चलाएलगत्तै चालकले बन्दुकसमेत चलाएको उल्लेख गरेको छ । लगत्तै प्रहरीले जवाफी फायर गरेका थिए ।