काठमाडौं। नेपाली कांग्रेसका नेतात्रय बिमलेन्द्र निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको छ। विरासत बोकेका नेताहरु भनेर चिनिने नेतात्रयबीच बुधबार उपप्रधान तथा सहरी विकासमन्त्री सिंहको निवास चक्साबारीमा भेटवार्ता भएको हो। उनीहरुलाई कांग्रेसमा तीन ‘युवराज’ भन्ने गरिन्छ।
यसअघि गत असोज ८ गते कोइराला निवास महाराजगञ्जमा यी तीन नेताबीच भेटवार्ता भएको थियो। उनीहरुबीच आगामी १५औं महाधिवेशनको बारेमा छलफल भएको बुझिएको छ। ०८२ को मंसिरमा नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन हुँदैछ।
विधानत हालका सभापति शेरबहादुर देउवा सभापति हुन नपाउने हुँदा नयाँ सभापतिको खाजी भइरहेको छ। निधि, सिंह र कोइराला तीनै जना पार्टीमा सभापतिका आकांक्षीको साथै देउवा निकटका नेता हुन्।
राजनीतिक परिवारमा जन्मे हुर्केका कोइराला, सिंह र निधिलाई कांग्रेसमा ‘विरासत’ बोकेका नेताका रूपमा चिनिन्छ। कोइराला बिपीका छोरा हुन् भने सिंह गणेशमानका र निधि महेन्द्रनारायणका छोरा हुन्।