काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महसुस भएको बताएका छन्।
मंगलबार चितवनको मेगौलीमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिक उत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव–२०८१ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री हुँदाभन्दा बढी माया र सम्मान विपक्षी दलको नेता भएर अहिले जनतामा जाँदा पाइरहेको बताएका हुन्।
‘मलाई यो पटक प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महशुस भएको छ। जनताले मलाई प्रधानमन्त्री भएको बेलामा भन्दा बढी माया र सम्मान दिनुभएको छ,’ उनले भने।
आफू नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान मन नपरेकै कारण सरकार ढालिएको उनले बताए। आफूले सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय छवि उज्वल बनाउने प्रयत्न गरेको उनले सुनाए।
‘एकथरी मान्छेहरुलाई सुशासनको अभियान मन परेन। सामाजिक न्यायको अभियान मन परेन। अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि उज्वल बनाउन खेलेको भूमिका मन परेन र म अहिले जनताको बीचमा छु। म खुसी नै छु । मैले फेरि एउटा सपना बोकेर देशमा स्थिरता, विकास र समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेकै छु,’ उनले भने।