काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस चल्दै गर्दा कास्की जिल्ला अदालतको इजलासमै रुवाबासी भएको छ । इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले 'यहीँ मर्ने' अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो ।
८० वर्षीय उनले इजलासमा यस्तो बताएपछि अवस्था असहज भएर बहस नै स्थगित गरिएको अदालत स्रोतले बताएको छ । गुरुङको 'यहीँ मर्ने' अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायत रुन थालेका थिए भने बहसको माहोल एकाएक बिग्रन पुगेको थियो ।
जतिबेला न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शान्तिदेवी शर्माले बहस थालेकी थिइन् । सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत जोडिएका छन् । उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लगायतका केही प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ ।मिछानेसहितका बयान दिएका प्रतिवादीहरु सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
यसैगरी प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको छ ।
यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र अर्का प्रतिवादी दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।