गौतम र रावलको राजनीतिक यात्रा: अब कता?

गौतम र रावलको राजनीतिक यात्रा: अब कता?

काठमाडौं। कुनै बेला नेकपा एमालेका पूर्व अध्यक्षहरु माधवकुमार नेपाल, झलनाथ खनाल तथा उपाध्यक्षहरु बामदेव गौतम र भीम रावल  यतिवेला एमालेमा छैनन्।

नेकपा एमाले विभाजनसँगै माधवकुमार नेपाल, झलनाथ खनाल नेकपा एकीकृत समाजबादी दलमा सँगै छन्। नेकपा विभाजन सँगै बामदेव गौतम कम्युनिष्ट एकता अभियानमा छन्।

केहीदिन अघिमात्र नेकपा एमालेबाट निष्काशित भीम रावलले अहिले नयाँ पार्टी खोल्ने गृहकार्य सुरु गरेको चर्चाले नेपाली राजनीति खासगरी कम्युनिष्ट आन्दोलनमा नयाँ तरंग ल्याएको छ।

नयाँ पार्टी गठनका सम्बन्धमा निर्णय सुनाउन रावलले यही पुष १७ गते बुधबार परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविश्यबारे भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

पत्रकार सम्मेलनमा रावलको नयाँ पार्टी घोषणा हुन सक्ने आँकलन पनि गर्न थालिएको छ।  एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आफु निकट नेताहरुसँग आन्तरिक छलफल सुरु गरेको रावलकै सचिवालयले पुष्टि गरिसकेको छ।

रावल नयाँ पार्टी खोल्ने गृहकार्यमा लाग्दाअर्का  नेता गौतमले भने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफलमा जुटेका छन्।

साेमबार मात्र नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर गौतमले नेपाललाई भेट गरेका हुन्।

नेपाल र गौतमबीच भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए। भेटपछि गौतमले नयाँ पाइलासँगै अघि बढाउनेबारेमा पनि छलफल भएको उल्लेख गरे।

भेटमा खासगरी एकिकृत समाजबादी पार्टीमा गौतम नेतृत्वको अभियानमा लागेका कार्यकर्ताको ब्यस्थापनको विषयमा छलफल भएपनि त्यसबारे विस्तृत योजनाको भने खुलासा गरिएको छैन।

‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ।’ भेटपछि नेता गौतमले भने।

नेता गौतम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने आशय र  नेता रावलले गर्न लागेको पत्रकार सम्मेलनपछि नेपाली कम्युनिष्ट आन्दोलनका नयाँ आयामहरु कसरी जालान् भन्ने चाहिँ हेर्न बाँकी  नै छ।