काठमाडौं। राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरामा आफू क्लियर रहेको बताएका हुन्। विश्लेषक डा.केसीले लामिछाने दुधले नुहाएको मान्छे होइनन् भन्ने कुरामा पनि आफू प्रष्ट रहेको बताए। ‘जे गरेपनि हुन्छ भन्ने अभ्यास गर्ने पछिल्लो प्रवृत्ति चाहीँ रवि लामिछाने हो। रवि लामिछानेमाथि प्रतिशोध भएको हो भन्ने कुरामा क्लिएर छु। तर, रवि लामिछाने पनि दुधले नुहाएका व्यक्ति होईनन् भन्ने कुरामा म त्योभन्दा बढी प्रष्ट छु,’ उनले भने।
साथै, फरक प्रसंगमा उनले सरकारमा रहेका मन्त्रीहरुलाई पोलिटिकल टर्मिनोलोजी नै थाहा नभएको टिप्पणी गरे। अर्थमन्त्री ८ क्लास पढेको लठुवा र परराष्ट्रमन्त्री मनोविद्लाई बनाइएको भन्दै उनले भने, ‘अब ८ क्लास पढेको लठुवालाई अर्थमन्त्री बनाउने, मनोविद्लाई लगेर परराष्ट्रमन्त्री बनाउने अनि नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई निम्तो दिएनन् भनेर यहाँ छाती पिट्ने। कसरी हुन्छ त? पोलिटिकल टर्मिनोलोजी नै थाहा छैन।’
साथै, आजको दिनमा हरेक राजनीतिक दलहरुभित्र राजनीतिक कमैयाहरु रहेको र तिनीहरु नै अहिलेको समस्याको रुपमा रहेको बताए। ‘आजको मूल मुद्दा भनेको राजनीतिक दलभित्रको कमैया प्रथा उन्मुलन नै आजको मुख्य एजेण्डा हुनुपर्छ। हरेक दलभित्र राजनीतिक कमैयाहरु छन्,’ उनले भने।
आज सेना, कर्मचारी र राजनीतिक वृत्तमा पनि भ्रष्टाचारको कुरा उठिरहेको बताउँदै उनले यसबारे बोल्न डरमर्दो अवस्था रहेको बताए। उनले भ्रष्टाचारको विरुद्धमा बोल्दा कालो पट्टी बाँधेर जेल कोचिदिन सक्ने अहिलेको खतरा रहेको बताए। विश्लेषक डा. केसीले नेताहरुलाई भ्रष्टाचार गर्न सिकाउने र पुँजी पलायन गर्न सिकाउने तत्व कर्मचारी नै रहेको दाबी गरे।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जहाँ जाँदा पनि जनताले कालो झण्डा देखाइरहेको, गाली गरिरहेको र दुत्कारी रहेको उनले बताए।
प्रधानमन्त्री ओलीलाई आफूले यो कार्यकाल विदेश भ्रमण नै नगर्नुुस् भनेर सुझाव दिएपनि उनले त्यसैलाई आफ्नो एजेण्डा बनाएको बताए। ‘जब प्रधानमन्त्री, मन्त्री विदेशको भ्रमणमा जान्छ भनेदेखि देशवासीहरुले उसलाई स्टेन दिनुपर्छ। तर, हाम्रो त जाहिँत्यहीँ प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँछन्, गाली गर्छन्, दुत्कार्छन्। यस्तो अनुहार लिएर भ्रमणमा गइयो भने देश र जनताको पक्षमा केही आउन सक्दैन। मैले भनेको थिएँ- प्रधानमन्त्रीजी तपाईँ यो चोटी भ्रमणमा नगइदिनुहोस्। तर उहाँहरुको एजेण्डा नै भ्रमण हो। फेरि भ्रमणको कुरा पनि पहिला चीनको कि भारतको गर्ने ?’ उनले भने।
विश्लेषक डा.केसीलदे विदेश नीति, सामाजिक सद्भाव, धर्म, वित्तीय प्रशासन र विकास निर्माणको मामलामा राजनीति गर्न नपाइने उनले बताए। यसैमाथि राजनीति भइरहेको र लोकतन्त्रलाई चुनौति दिइरहेको उनले बताए।
उनले सबै नेताहरुको सम्पत्ति छानविन हुनलाई आफू नै प्रधानमन्त्री बन्नुपर्ने बताए। उनले अहिलेका कोहीबाट पनि त्यो काम हुन नसक्ने बताए। ‘सबै नेताको सम्पत्ति छानविन हुनुपर्ने माग नेपाली जनताको माग वास्तविकतामा आधारित हो भने त्यसको लागि म नै प्रधानमन्त्री हुनुपर्छ। कुनै अर्को उपाय छैन, यी ल्याङ्ग्राबाट त्यो हुँदैन,’ उनले भने।