काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा गगन थापा सभापतिमा उठ्नेबारे आफूलाई जानकारी नरहेको बताएका छन्।
आइतबार जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले १५औं महाधिवेशनमा उठ्नेबारे गगनले आफूलाई केहीपनि नभनेको बताए।
उनले गगन आजसम्म पनि आफ्नै गुटमा रहेको बताए । ‘आजको दिनपनि उहाँ हाम्रै ग्रुपमा हुनुहुन्छ । उहाँ उठ्छु भनेर मलाई त भन्नु भएको छैन। बाहिर तपाईँहरुलाई भनेको भए मलाई थाहा छैन । उठ्नुहुन्छ भने उठ्नुहुन्छ । त्यो त अधिकारको कुरा हो । अधिकार कसैको रोक्ने कुरा त भएन,’ उनले भने ।
साथै, कांग्रेस अधिवेशनमुखी भइसकेको उनले बताए । अधिवेशनमुखी भइसकेको अवस्थामा अलिअलि तलमाथि हुनुलाई स्वभाविक मान्नुपर्ने उनको धारणा छ । त्यस्तै सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुनै रिस, राग, द्वेष नरहेको उनले प्रष्ट पारे ।
‘मेरो सभापतिजीसँग कुनैपनि किसिमको रिस, राग, द्वेष केही छैन । उहाँ मेरो आदारनीय सभापति हुनुहुन्छ । उहाँले बोलाएको बेला म जान्छु । मैले कुनै इन्फर्मेसन पाएँभने भेटेर भन्छु, फोनबाट भन्छु । उहाँसित होईन, मेरो कसैसित पनि, कुनैपनि नेपाली कांग्रेसका साथीहरुसित मेरो रिस, राग, द्वेष केहीपनि छैन,’ नेता कोइरालाले भने ।