एनसेलको सेयर बिक्री रोक्न माग गर्दै अमरेशले हालेको रिट सर्वोच्चद्वारा खारेज

एनसेलको सेयर बिक्री रोक्न माग गर्दै अमरेशले हालेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं। सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सो रिट खारेज गरेको हो।


दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रिट दायर गरेका थिए। सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।

सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गरेका थिए। एनसलेको ८० प्रतिशत शेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् । सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

रिट खारेज गरेको सर्वोच्चले निर्देशनात्मक आदेश भने जारी गरेको छ। उक्त निर्देशनात्मक आदेशमा के छ भन्ने कुरा पछि थाहा हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ।