काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
लीला पछाईंको बयान सकिएपछि जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविको बयान चलिरहेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ । यसअघि गत आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । यस्तै ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगीको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बित भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।