‘नेकपा’ ब्युँत्याउने गृहकार्य

‘नेकपा’ ब्युँत्याउने गृहकार्य

काठमाडौं। विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ। कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई राजनीतिमा सक्रिय बनाउन लागिएको छ।

राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउन हुने नहुनेमा अहिले बहससमेत सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारीलाई अहिले सक्रिय राजनीतिमा ल्याउन सोही पार्टीका नेताहरू जोडबलका साथ लागेका छन् । एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेको आगामी महाधिवेशनबाट अध्यक्ष बनाउन खोजिएको छ।

भण्डारीलाई एमालेको अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै पुनः नेकपा ब्युँत्याउन लागिको हो । एमालेसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दललाई पुनः एकीकरण गर्नका लागि शीर्ष नेताहरू नै लागेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट हेपिएका, पेलिएका र अवसरबाट वञ्चित नेताहरू एकीकृत हुँदै भण्डारीलाई अध्यक्ष बनाउने रणनीतिमा लागेका छन् ।

गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भइसकेकी भण्डारीलाई पहिलो महिला प्रधानमन्त्री बनाउनुपर्ने जोड ती नेताको छ । भण्डारीलाई अध्यक्ष बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकठाउँमा ल्याउन सजिलो हुने बुझाइ उनीहरूको छ । भण्डारी अध्यक्ष भए पार्टी एकता गर्दै नेकपा ब्युँत्याउनका लागि प्रचण्ड, नेपालसहित झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले ‘ग्रिन सिंग्नल’ दिइसकेको दाबी गरिएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका साथै नेताहरू गोकुल बाँस्कोटा, कर्ण थापा, शेरधन राई, विनोद ढकाल, डा. विमला राई पौड्याललगायतका नेताहरू अहिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन जोडबल गरिरहेका छन् ।

नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेपछि ओली निकट मानिने केही नेताले रोक्न खोजेका छन्। एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूले पटकपटक भण्डारीलाई भेटेर सक्रिय राजनीतिमा नफर्किन सुझाव दिँदै आएका छन् । पोखरेल, रिजालसहितका नेताहरूले ओलीलाई नै पुनः एमाले अध्यक्ष बनाउन खोजेका छन् । त्यसकारण भण्डारीलाई उनीहरूले सक्रिय राजनीतिमा आउन नहुने भन्दै त्यस्तै सुझाव दिइरहेका छन् ।

‘एक समय केपी ओली कमरेडको भक्त र हनुमानजस्तै देखिएका नेताहरू नै अहिले ओलीबाट असन्तुष्ट छन्, उनीहरूले अहिले ओलीको विकल्प खोज्दै छन्, त्यो विकल्पका रूपमा विद्या भण्डारी रहेको र भण्डारीलाई एमाले अध्यक्ष बनाएपछि विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई पुनः एकीकरण गर्दै नेकपा ब्युँत्याउन सकिन्छ भन्ने कुरा हो,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

यस’boutमा लामो गृहकार्य भएर यस्तो निष्कर्षमा पुगिएको बताउँदै उनले त्यसका लागि प्रचण्ड, नेपाल, झलनाथदेखि वामदेव गौतमसम्मका नेताहरूसमेत सहमत देखिएका छन् । ओलीको कार्यशैलीले कम्युनिस्टहरू विभाजित भएको र झन्डै दुई तिहाइ बहुमतको सरकारसमेत जोगाउन नसकिएको बताउँदै उनले कम्युनिस्टहरूलाई एकीकृत गर्नमा ढिलाइ गर्न नहुने बताए ।

एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजिएको प्रसंग निकालेका थिए । पार्टीको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई दिनहुँ राजनीतिमा फर्किनुप¥यो भन्दै रटान नलगाउन नेताहरूलाई चेतावनी नै दिएका थिए ।

भण्डारी स्वयंले पनि विभिन्न बहानामा पार्टी राजनीतिमा फर्किन सक्रियता देखाइरहेकी छन् । गत १० वैशाखमा नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको ‘गणतन्त्र गौरव’ सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भ्रातृ संगठनले आयोजना गरेका कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै आएकी छन् ।

भण्डारी राष्ट्रपति हुँदासमेत नेकपा र एमाले विभाजन हुन नदिन शीतल निवासबाटै सक्रियता देखाएकी थिइन् । भण्डारी अहिले राजनीतिमा फर्किएर सके पुरानै नेकपा ब्युँत्याउने र नभए पनि एमालेलाई पुनर्गठन गर्ने उद्देश्य रहेको बताइएको छ ।

नेकपा एकता अभियानका संयोजक रहेका राष्ट्रिय सभाका सदस्य वामदेवले पटकपटक एमाले प्रवेश गर्ने चाहना व्यक्त गरे । तर, ओलीले उनलाई एमालेमा भिœयाउने चाहना नै देखाएनन् ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम नेकपा विघटनसँगै एमाले र माओवादी केन्द्रमा नगई स्वतन्त्र बसेका थिए । अहिले उनी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । गौतमले अहिले पनि कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्न खोजेका छन् तर उनको कुरा कुनै नेताले सुन्दैनन् ।

रावलको साधारण सदस्यता खोसियो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय एमालेले गरेको हो । यस्तै, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाइएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आइरहेका नेता हुन् । रावलसहित पाण्डे र तिमल्सेनाले पछिल्लो समय व्यवसायी मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि उपलब्ध गराएको जग्गा दानको विरोध गरेका थिए ।

सोही कारण उनीहरूसँग पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।

यस्तै, एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सचिवालय बैठकले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बोलाउने र त्यसको एजेन्डा तय भएको बताए ।

‘बैठकले केन्द्रीय कमिटीको ८औं बैठक आगामी २१ र २२ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यस बैठकका लागि हामीले राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूका विषयमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोहरूले गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’।

सचिवालय बैठकमा कांग्रेस–एमाले गठबन्धन सरकारको पाँचमहिने सहयात्राका समीक्षा गर्दै पाँच महिनाको अवधिमा केही महत्वपूर्ण काम अगाडि बढेकामा बैठकले सन्तुष्टि व्यक्त गरेको उनले बताए । नयाँ सरकार आएदेखि नै सेयर बजार उच्च बिन्दुमा रहेको, संक्रमण कालीन न्यायको विषय टुंग्याउन आयोगका पदाधिकारी नियुक्तिका लागि छिट्टै अर्को समिति बनाउने पनि बैठकमा छलफल भएको उनले बताए ।