काठमाडौं। मेडिकल व्यसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले रिहाइको आदेश दिएसँगै उनी छुटेका हुन्। आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए। सो मुद्दामा धरौटीमा रिहा भएका प्रसाईँलाई अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे अनुसन्धान भइरहेको छ। सो अभियोगमा प्रसाईँलाई पक्राउ पर्नु पहिला नै प्रहरीले बोलाएर बयानसमेत लिएको थियो । सो समूहका नाइके हरिचन्द्र फुयाल अहिले पनि प्रहरी हिरासतमा छन्।
रिहाइपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘तस्करहरुसँगको लडाइँ हो मेरो। यो जारी हुन्छ। यो छाल आउने बेला हो।’