काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस गरेको छ ।
काठमाडौं महानगरपालिकाको आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि उनलाई कारबाहीको लागि सिफारिस गरिएको महानगरले जनाएको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यू–टावरको नक्सा पास प्रक्रियामा उनको अस्वभविक चलखेल देखिएको महानगरले बताएको छ ।
‘सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन। भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ।
यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरिन्छ,’– महानगरका प्रवक्ता नविन मानन्धरले भने।