दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेकाे रिट खारेज

दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेकाे रिट खारेज

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ। रिट खारेज भएसँगै बैंक/वित्तीय संस्थाले उनीबाट ऋण असुली प्रक्रिया अघि बढाउन पाउने भएका छन्।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो।

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ।

ऋण तिर्न ताकेता गरेपछि प्रसाईंले गत असार ८ गते  अधिकारीमार्फत कुमारी बैंकको बिर्तामोड शाखासहित चार बैंकविरुद्ध ऋण असुल गर्ने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए।

यसअघि उच्च अदालतले असार १० र २६ गते तत्काल ऋण असुली प्रक्रिया अघि नबढाउन अन्तरिमकालीन आदेश जारी गरी निरन्तरता दिएको थियो। तर, मङ्गलबार न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर राईको संयुक्त इजलासले प्रसाईंको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ।

प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन्।

यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न अभियान नै चलाएका प्रसाईंले सडक आन्दोलनसम्म गरेका थिए। प्रसाईंकै अभियानमा संलग्नहरूले देशका विभिन्न स्थानमा बैंक/वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण नै गरेका थिए ।

प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वाेच्च अदालतले बाटो खोलिदिएको थियो।