काठमाडौं। नेकपा (एमाले) का नेता एवं सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलन लुकाउनको लागि नै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी श्रीमती ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरेको पाइएको बताएका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि नै उनीहरुबीच डिभोर्स भएको पाइएको बताएका हुन् ।
‘धनराज गुरुङको अन्तिम, अन्तिम स्थितितिर हाम्रो जानकारीमा आयो । त्यसपछि पनि म मितेरी सहकारीको स्थलगत निरीक्षणमा गएको हो । त्यसका अध्यक्षलाई ल्याएर सोधपुछ गरेको हो । अनि धनराज गुरुङकी श्रीमती फरार छन्, अमेरिकामा छन् । उनलाई खोजी गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर निर्देशन गरेको हो । अन्तिम बैठक भदौ ३१ गते हामीले यो सहकारी सम्बन्धविच्छेद भएको देखिन्छ । सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि त्यसो भएको हुनाले धनराज गुरुङलाई पनि अनुसन्धान गर्ने निकायले हामीले अनुसन्धान गर्न भनेर निर्देशन दिएका छौं,’– थापाले भने ।
धनराजमाथि अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको र सहकारी ठगीमा संलग्न कोहीले पनि उन्मुक्ति नपाउने बताए ।