डिआइजी सरुवा, फेरिए चार प्रदेशका प्रमुख

डिआइजी सरुवा, फेरिए चार प्रदेशका प्रमुख

काठमाडौं। गृहमन्त्री स्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका छन्। एसएसपीबाट डिआइजी बढुवा भएकाबाट दुई र अरू दुई गरी चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको हो। पदस्थापन तथा सरुवा सूचीअनुसार कोशी प्रदेशको प्रहरी प्रमुखमा राजन अधिकारी सरुवा भएका छन्। त्यहाँका चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गएका छन्।

प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डिआइजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रमुखका रूपमा सरुवा भएका छन् भने त्यहाँका कुवेर कडायत कार्कीको ठाउँमा खटिएका छन्। अब उनले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्।

बढुवा हुनेमध्ये भोलाबहादुर रावल गण्डकी प्रदेशमा पदस्थापित भएका छन्। अर्का नवनियुक्त डिआइजी गणेश चन्द सुदूरपश्चिममा पदस्थापन भएका छन्।

यसअघि गण्डकी प्रदेशमा रहेकी दुर्गा सिंह प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र सुदूरपश्चिमका रवीन्द्र केसी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन्।

अख्तियार अनुसन्धान विभागका डिआइजी बुद्धिराज गुरुङ एआइजीमा बढुवा भएर रिक्त रहेको दरबन्दीमा नवनियुक्त डिआइजी हिमालयकुमार श्रेष्ठको पदस्थापन भएका छन्। डा. मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा भएका छन्।