रविको बचाउमा एकजुट हुँदै विपक्षी दल

रविको बचाउमा एकजुट हुँदै विपक्षी दल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा सत्ता-प्रतिपक्षी आरोप-प्रत्यारोपमा उत्रिएका छन्। सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका लामिछानेको विषयमा सरकार र विपक्षी दल आरोप-प्रत्यारोपमा उत्रिएका हुन्।

यसअघि रास्वपा एक्लै सभापति रवि पक्राउको विरोधमा उत्रिएको थियो। तर, लामिछाने पक्राउ परेको दुई महिना पुग्नै लाग्दा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले मुख खोलेका हुन्। प्रचण्डसहित माओवादी नेताहरूले रविमाथि प्रतिशोध साँधिएको रास्वपाको आरोपमा सही थापेका छन्।

सहकारीको रकम दुरुपयोग र ठगी गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखरा, भैरहवा, काठमाडौं, चितवन र वीरगञ्ज पुर्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ। लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले गरेको व्यवहार तथा अनुसन्धानका नाममा सरकारले हिरासतको बसाइ लम्ब्याएको भन्दै विपक्षी दलका नेताहरूले आपत्ति जनाएका हुन्।

माओवादी अध्यक्ष प्रचण्डले रविबाट सरकार र सत्तारूढ दलहरू तर्सिएको बताए। प्रचण्डले यसअघि सोमबार सामाजिक सञ्जालमार्फत रविमाथि सरकारले अलोकतान्त्रिक, निरंकुश र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए। यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राप्रपा नेता ज्ञानेन्द्र शाहीले हिरासतमै रविलाई भेटेर उनीमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए।

प्रहरीले लामिछानेलाई मंसिर १९ गते राति चितवनमा अनुसन्धान सकेर पोखरा लगेको थियो। त्यसक्रममा प्रहरीको व्यवहार अशोभनीय रहेको भन्दै लामिछाने रास्वपाले आपत्ति जनाउँदै विरोध गरिरहेको छ।

विपक्षी मात्रै होइन सत्तारू नेपाली कांग्रेसकै संस्थापनइतर समूहका नेताहरूले समेत रवि पक्राउको विषयमा प्रश्न उठाएका छन्। कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि रास्वपा सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेको प्रति आपत्ति जनाएका थिए।

मंसिर २२ गते भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले राति १२ बजे लामिछानेलाई चितवनबाट उठाएर पोखरा लैजानु अमानवीय व्यवहार भएको टिप्पणी गरेका थिए।

यसैगरी, कांग्रेसकै सांसद सुनिल शर्माले पनि गिरफ्तार गरेर अमानवीय व्यवहार गर्नु स्वीकार्य नभएको बताए। लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक एवं सेयर सदस्य भएका बेला देशका विभिन्न जिल्लामा रहेका सहकारीको बचत रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप छ।

यसैबीच गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को अभिव्यक्ति रवि माथिको अनुसन्धानलाई प्रभावित गर्नेगरी आएको आरोप लगाएका छन्।

मंगलबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले विपक्षी दलको नेताबाट अनुसन्धान र अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन्।

अनुसन्धान र अदालतलाई प्रभावित पार्नेगरी कसैले पनि बोल्न नहुने उनको भनाइ थियो। ‘म फेरि भन्छु अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित गर्नेगरी कसैले पनि बोल्ने कुरा गलत हो। विपक्षी दलको नेताले नै यस्ता गतिविधि गर्नु त झन् दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘अनुसन्धान गर्नु परेन? अदालतले के गर्छ त्यो त अदालतको कुरा हो नि। तर, अनुसन्धान र अदालतलाई प्रभावित पार्नेगरी कसैले पनि बोल्नुभएन।’

यसअघि प्रचण्डले ‘अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दै त्यस्तो व्यवहार रोक्न गम्भीर आग्रह’ गरेका थिए। गृहमन्त्री लेखकले त्यसको प्रतिवाद गरेका हुन्। गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न गतिविधि गरिरहेको बताए।

‘गरिब जनताले बचत गरेको रकम अपचलन भएको भनिएको छ। जसको पैसा ठगिएको छ तिनको चिन्ता छैन, जोमाथि अनुसन्धान भइराख्या छ, अनुसन्धान भइरहेको कुरालाई प्रभावित बनाउने काम भइराख्या छ,’ गृहमन्त्री लेखकले भने, ‘प्रहरी कार्यालय घेरेर, सरकारी वकिल कार्यालय घेरेर, अदालत घेरेर भिडले फैसला गर्ने ?’ गृहमन्त्री रमेश लेखकले कसैको मानव अधिकार हनन नभएको दाबीसमेत गरे।

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा सहकारी ठगहरू अहिले सत्ताको नेतृत्व गर्ने पार्टीमा रहेको दाबी गरेका छन्।

चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेका ठूला नेताहरू नै सहकारी ठगको रूपमा देखा परिसकेको बताए।

‘उनीहरूले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेका कुराहरू हामीले देखिरहेका छौँ। तिनै नाटकबाजहरूलाई नै बचाउन यो सरकार लागिपरेको छ,’ उनले भने, ‘अहिले उहाँहरूले एउटा रवि लामिछाने पाउनुभएको छ, जो दुई-दुईपटक अत्यधिक मतले जित्नुभयो । अहिले उहाँलाई राजनीतिक प्रतिशोधले जो गरिएको छ, अहिले त आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु । देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । किन हिरासतमा राख्नुप¥यो ? छाडेर अनुसन्धान गरे पनि भइहाल्यो नि ∕ रविजीले अदालतलाई सघाउँछु भनिराख्नु भएकै छ ।’ आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेकोझैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उहाँले बताउनुभयो । ‘तपाईं हामी सबैलाई चासो हुनेलाई थाहा छ, अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरूलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ।’