जन्मेकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

जन्मेकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्‍याएका छन् ।

एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका छन् । अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे । ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।

यसैगरी, ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने पनि वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका समर्थकहरू क्यापिटल हिल अमेरिकी संसद् भित्र पसेर लुटपाट गरेका थिए ।