काठमाडौं । देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको छ । पश्चिमी वायुको प्रणालीको प्रभावले वर्षासँगै केही स्थानमा हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामाकैलालीमा सबैभन्दा बढी ११.६ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि हुम्लामा ६.५ मिलिमिटर वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।
यो अवधिमा बाजुरामा ६.२, अछाममा ४.६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै, डोटी, बैतडी, कञ्चनपुर, डडेलधुरामा वर्षा भएको छ ।
यी केही जिल्लामा आज थप वर्षाको सम्भावना रहेको छ । विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात समेत भएको महाशाखाले जनाएको छ ।
उक्त प्रणाली पश्चिम हुँदै पूर्वतिर सर्नेछ । त्यसको प्रभावले देशभरि नै बदली (आकाशमा बादल) र वर्षा तथा हिमपातको सम्भावना रहेको उनले बताए । काठमाडौंमा फाट्टफुट्ट मात्र वर्षा हुने बताइएको छ ।
मंगलबारदेखि मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।