चीनबाट फर्केपछि प्रधानमन्त्रीले भने- बीआरआईका परियोजनाबारे छुट्टै छलफल हुन्छ, अहिलेका सम्झौता ऋणका होइनन्

चीनबाट फर्केपछि प्रधानमन्त्रीले भने-  बीआरआईका परियोजनाबारे छुट्टै छलफल हुन्छ, अहिलेका सम्झौता ऋणका होइनन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् । चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए ।

ओलीले भने, ‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’

प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नलाई प्रधानमन्त्रीले खण्डन गरे । उनले भने, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन । भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन ।’

प्रधानमन्त्रीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ ? भनेर पनि सोधिएको थियो । उनले जवाफ दिए, ‘अब एरेन्ज गर्नुपर्छ । फर्केकै दिन कसरी भन्ने ।’ ओलीले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिए ।