कुलमान नभएको मौकामा विद्युत प्राधिकरणमा कार्यकक्ष बनाएर छिरे ऊर्जामन्त्री खड्का

कुलमान नभएको मौकामा विद्युत प्राधिकरणमा कार्यकक्ष बनाएर छिरे ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा कार्यकक्ष बनाएर छिरेका छन् । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौं उपत्यकाबाहिर भएका बेलमा ऊर्जामन्त्री खड्का दलबलसहित कार्यकक्ष बनाएर छिरेका हुन् ।

कुलमान यतिबेला दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको पुनर्निर्माणकार्यको अनुगमनका लागि पुगेका छन् । गत असोज १० देखि १२ गतेसम्म तामाकोशीमा आएको बाढीले उक्त आयोजनामा क्षति भएको थियो । तामाकोशीको क्षतिग्रस्त आयोजना पुननिर्माण चलिरहेका बेला कुलमान दोलखा पुगेको मौकामा खड्का प्राधिकरण छिरेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ यतिबेला काठमाडौंबाहिर छन् । कुलमानसँग डेडिकेटेड तथा ट्रंकलाइन विवाद रहेका बेला खड्काले प्राधिकरणको अध्यक्षको हैसियतामा कार्यकक्ष बनाएर बसेका हुन् ।

उनले त्यसका लागि रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा रातारात रङरोगन गर्न लगाएर आफ्नो कार्यकक्ष बनाउन लगाएका थिए । रङरोगन गरेर नसुकिसकेको कार्यकक्षमा खड्काले कुर्सी, सोफासहितका सामग्री व्यवस्थापन गर्न लगाएका थिए । खड्कालाई प्राधिकरणका उपनिर्देशक मनोज सिलवालसहितले स्वागत गरे ।

खड्काले प्राधिकरणको अध्यक्षका रुपमा कार्यकक्ष बनाउन लगाएको बताए । प्राधिकरणमा आउँदा कार्यकक्ष नभएपछि बनाउन लगाएको पनि खड्काले जिकिर गरेका छन् ।