काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष र दुई स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पदको नतिजा आएको हो । अब ७ स्थानको नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ ।
सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १५ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
पालिकातर्फ एमाले र माओवादी केन्द्रले एक एक स्थानमा अध्यक्ष तथा मेयरमा र उपाध्यक्ष तथा उपमेयरमा विजयी भएका छन् ।