०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छः अध्यक्ष लिङदेन

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छः अध्यक्ष लिङदेन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन्। आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्।

उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताए। उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए। उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे।

उनले नेपाली काँग्रेस-नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए। सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए।

काँग्रेस-नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरुकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए।

उनले भने, ‘हामीले आफ्नो क्रियाशिलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन। अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ। प-यो भने बीचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन। ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो। आज काँग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरु जनताको बीचमा जान सकिरहेका छैनन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन्। अब प्रधानमन्त्री, मन्त्रीहरुले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जानसक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ । काँग्रेस, एमाले, माओवादी यो तहको अलोकप्रिय भए र यिनीहरुको क्रियाकलापबाट जनता पूर्ण रुपमा परिचित भए भने अब आउने दिनमा ०८४ को चुनावमा राप्रपा पहिलो पार्टी नभएर कुन चाहीँ पार्टी पहिलो हुन्छ त ल भन्नुस् त।’

अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताए।