काठमाडौं। सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि सडक संघर्षमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रक्षात्मक बन्दै गएको छ। राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरिएको भन्दै सडक आन्दोलन गरिरहेको रास्वपा एकपछि अर्को प्रमाण सार्वजनिक हुन थालेपछि रक्षात्मक बन्दै गएको हो।
लामिछानेलाई पक्राउ गरेर कास्की लगेलगत्तै दलबलसहित प्रदर्शन गरेको रास्वपाले पछिल्लो सयम आन्दोलन सुस्त मात्रै होइन स्थगित नै गरेको छ। रवि पक्राउ परेको केही समयसम्म पोखरा र काठमाडौंमा समेत प्रदर्शन गरेको रास्वपाले अहिले भने आन्दोलन स्थगित गरेको हो।
मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलनसमेत घोषणा गरेको रास्वपा त्यसलाई पनि परिमार्जन गरेर स्थानीय तह उपनिर्वाचनमा केन्द्रित भएको छ । तर, रास्वपाले उपनिर्वाचन हुने सबै क्षेत्रमा उम्मेदवारीसमेत दिएको छैन।
यसअघि रास्वपाले सहकारी ठगीमा लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गर्दै आएको थियो। तर, सहकारीको ऋणको ब्याज तिर्न लामिछानेकै हस्ताक्षरसहित दिइएको चेक भेटिएपछि रास्वपा नैतिक संकटमा परेको हो। सूर्यदर्शन र सुप्रिमसहित पाँच सहकारीबाट गोरखा मिडियामा अनधिकृत रूपमा आएको ६७ करोड रुपैयाँको ब्याज भुक्तानीका लागि रविले काटेका चेक भेटिएको थियो।
पटक-पटक गरी रविले एक करोड ५५ लाख ब्याज भुक्तानीका लागि चेक काटेको प्रहरी अनुसन्धानमा खुलेको थयो। यसअघि लामिछाने पक्राउ परेलगत्तै पार्टीका पदाधिकारी, केन्द्रीय समिति मात्रै होइन, सिंगो संसदीय दल पोखरा पुगेर आन्दोलनमा उत्रिएको थियो। तर, प्रमाण मिडियामा सार्वजनिक भएपछि रास्वपा सडक आन्दोलनबाट ब्याक भएको हो । पछिल्लो समय विरोध प्रदर्शन गर्ने वा नगर्ने भन्नेमा रास्वपामा विवादसमेत भएको थियो।
रास्वपाका नेता गणेश पराजुलीले प्रमाण भेटेको भए छिटो मुद्दा दायर गर्न चेतावनी दिएका छन्। तर, सरकारले स्टण्ट गर्ने काम मात्रै गरेको उनले बताए। ‘प्रहरीले सभापतिविरुद्ध प्रमाण बटुलेको हो भने सम्मानित अदालतमा प्रस्तुत गरेर मुद्दाको प्रक्रियामा अगाडि बढे हुन्छ । तर, स्टण्टबाजी गर्ने काम मात्रै भएको छ,’ पराजुलीले भने, ‘सभापतिले त प्रमाण ल्याऊ, म कारबाही भोग्न तयार छु भन्नुभएको छ।’
गत कात्तिक २ गते रविलाई काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा पुर्याइएको थियो। रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँपटक म्याद थपिएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा रविलाई अनुसन्धान भइरहेको छ।
रविविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी ठगी प्रकरणमा उहाँलाई बयान गराउने क्रम चलिरहेको छ। यसैक्रममा रविलाई बयानका लागि काठमाडौं ल्याउनेसमेत तयारी भइरहेको छ।
समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै गितेन्द्रबाबु राई (जिबी), रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानविन समितिले सिफारिश गरेको थियो । त्यसमध्ये जिबी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहनुभएका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै छन्।
हिरासतबाटै पार्टी चलाउँदै रवि
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेको डेढ महिना हुनै थाल्यो। तर, अहिलेसम्म कसैलाई पनि कार्यबाहकको जिम्मेवारी दिइएको छैन । कार्यबाहक लिन दुई सभापतिबीच तीव्र प्रतिस्पर्धा भएपछि सभापति लामिछानेले हिरासतबाटै पार्टी चलाइरेका छन्।
पार्टीले हरेक निर्णय हिरासतमा रहेका लामिछानेको परामर्शमा मात्रै लिने गरेको छ । कुनै निर्णय लिनुपूर्व नेताहरू हिरासतमा रविलाई भेट्न पोखरा पुग्ने गरेका छन् । पार्टी सभापतिसँग परामर्श गरेपछि रास्वपाले सडक प्रदर्शन नगर्ने निर्णय लिएको थियो । जु
न कुराको पुष्टि सभापति रविले गत सोमबार पार्टीमार्फत प्रसारित सन्देशबाट जानकारी गराएका छन् । ‘म चाहिँ नागरिकले दुःख नपाऊन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलनसमेत नगर्नु भन्ने अनि मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने ?’ उनले पार्टीमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा भनिएको छ।
कतिसम्म भने उपसभापति डिपी अर्यालले जिउँदो रहेसम्म सभापति रवि नै हुने ठोकुवा गरेका थिए। कात्तिक २५ गते पोखराको मानव अधिकार चोकमा उभिएर अर्यालले भनेका थिए, ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो । यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो ।’ पार्टीले निर्णय लिनुपर्दा पहिले दुईजना उपसभापतिले छलफल गर्ने र त्यसले पनि पुगेन भने सभापति रविलाई भेट्न जाने गरेको उनले बताए।
रास्वपाले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्याउन सरकारलाई आग्रह गरेको छ । प्रहरीले हिरासत बसाइ लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एकपछि अर्को जिल्लामा सभापति लामिछानेलाई पठाइएको भन्दै रास्वपाले उनको मुद्दा तत्काल अदालत पुर्याउन माग गरेको हो ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सबै मुद्दा छिटो अदालत पुर्याउन आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको बताएका थिए। प्रधानमन्त्री ओलीले प्रहरी अनुसन्धान प्रभावित पर्ने काम आफूबाट नहुने बताएका थिए।