काठमाडौं । यूएईमा आज (शुक्रबार)देखि सुरु हुने एसीसी यू–१९ एसिया कपअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार आज बिहान १०ः४५ बजे शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुनेछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए । यूएई, नेपाल र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष–३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै समूह ’बी’मा रहेका छन् । समूह ’ए’मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।