काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली काँग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताएका छन्।
बिहीवार कीर्तिपुरको उपनािर्वचनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष दाहालले हप्तामा एक पटक काँग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको बताए।
उनले नेपाली काँग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए। उनले सरकार तलमाथि गर्ने नभइ आफूहरु परिणाम दिनेगरी काम गरिरहेको बताए। उनले सरकारलाई स्थिर बनाउन काँग्रेस लागेको बताए।
उनले भने, ‘हाम्रो दुश्मन कोही पनि छैन। न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो। हामी अहिले केपी ओलीसँगै सरकारमा छौं। हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छाैं। किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौं। हामी परिणाम दिन चाहन्छौं। अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ। प्रचण्डले भर्खर भनेर जानुभयो। यो यो कारणले गर्दा सरकार बदलियो। नेपाली काँग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो। अहिले पनि प्रचण्डले हप्तामा एक पटक काँग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो। यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो। काँग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि। उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या काँग्रेससँग छ। प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौं। यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो।’