प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएका छन्।

भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन्। भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कुल संख्या यकिन भइसकेको छैन। परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन्। उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बिआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

यस्तै, प्रधानमन्त्री ओलीको चीन भ्रमणको अर्को एजेण्डा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्ताव रहेको छ। यस अगाडि गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरिसकेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको थियो। विमानस्थल अहिलेसम्म सञ्चालन हुन नसकेपछि नेपालले सो ऋणलाई अनुदानमा परिणत गर्न पहल गरेको छ।

अहिलेसम्म बिआरआईअन्तर्गत ऋण लिन हुने र नहुने मत विभाजित रहेको छ। बिआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो। सन् २०१७ मे १२ मा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो। कांग्रेस सरकारमा रहँदा त्यसबखत सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

तत्कालीन सरकारका परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यता, बिआरआई ऋणमा लिन नसकिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्ति दिइरहनु भएको छ। ओलीले शुक्रबार पार्टीले राजधानी काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरण सभामा भनेका थिए, ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थिति र अवस्था पनि छैन। हामीले उत्पादन बढाउनुपर्छ ।’ ‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ मंसिरमा भेटवार्ता हुने भएको छ। बेइजिङ पुगेको भोलिपल्टै चिनियाँ राष्ट्रपतिलगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने भएको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, १७ मंसिरमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्किने छन्।

यसअघि चीनले १७-२१ मंसिरका लागि भ्रमण मिति प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७-२० मंसिरसम्म भ्रमण हुने टुंगो लागेको हो। ‘बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ताहरू हुनेछन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘१९ मंसिरका दिन नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्र रूपमा चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन। सम्भवतः १४ मंसिरमा बेइजिङ र काठमाडौंबाट एकसाथ भ्रमणको घोषणा हुनेछ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको छ।