कम्बोडिया काण्डसँग ओलीको कहीँ न कहीँ निकटता छ, कठघरामा उभ्याउनुपर्छः माओवादी नेता दाहाल

कम्बोडिया काण्डसँग ओलीको कहीँ न कहीँ निकटता छ, कठघरामा उभ्याउनुपर्छः माओवादी नेता दाहाल

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कम्बोडिया काण्डबारे विषय उठान भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानविन हुनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठिसकेपछि छानविनको दायरामा ल्याउनैपर्ने बताएका हुन् ।


नेता दाहालले ओलीविरुद्ध आरोप लगाउने मेडिकल व्यसायीलाई पक्रिएर प्रहरीले अनुसन्धान नै नगरी भिडिओ फेक रहेछ भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले अनुसन्धान नै नगरी उक्त भिडिओ फेक रहेछ भन्न प्रहरीले नमिल्ने बताए । एनसेल एजियटा (एनसेल) प्रकरणमा प्रधानमन्त्री ओलीको कहीँ न कहीँ निकटता रहेको उनको दाबी छ ।

‘केपी ओलीज्यू प्रधानमन्त्री पनि हो, उहाँ नागरिक पनि हो । विषय उठान भइसकेपछि अब अनुसन्धान हुनुपर्यो । सक्कली हो वा नक्कली हो ? सीआईबीले छानविन गर्नुपरेन ? सिधै नक्कली हो भन्दिने ? नक्कली हुनसक्छ, अथवा सक्कली पनि हुनसक्छ नि त ? अनुसन्धान प्रक्रियामा नलगी आरोपितलाई जेल हाल्ने, निरङ्कुश शैलीमा नक्कली थियो भन्नुले त्यहाँ पनि समस्या छ भन्ने बुझ्नुपर्छ । कानुनको कठघरामा त उभिनै पर्छ । एनसेल प्रकरणमा कहीँ न कहीँ उहाँको निकटता छ । विचौलियासँग उहाँको गरिरो प्रेम छ, सम्बन्ध छ भन्ने कुरा हिल्टन होटलका मालिकदेखि विद्युत बक्यौता नतिर्नेहरु र लिलाबल्लभ अधिकारीको उन्मुक्तिसम्म आउँदा आरोप लगाउन र आशंका व्यक्त गर्न सकिन्छ,’– नेता दाहालले भने ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री ओलीको कम्बोडियाको एजियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको आरोप लगाउँदै भिडिओ सार्वजनिक गरेका थिए । नक्कली कागजात खडा गरी भिडिओ बनाएको आरोपमा पक्राउ परेका प्रसाईँ अहिले प्रहरी हिरासतमा छन् ।