काठमाडौं।। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढंले नीति तर्जुमा गरिने बताएका छन्।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्ववृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढंगले काम गरिरहेको बताएका हुन्ब। प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरू त्यसको अनुभूति दिने बताए ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताए ।
उनले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले मजदुर र योगदानकर्ताजस्ता सरोकारवालको प्रतिनिधित्व नभई मजदुरका विषयमा निर्णय गर्ने प्रवृत्ति गलत भएको भन्दै सामाजिक सुरक्षा कोषमा त्यस्तो भएको पाइए सच्याइने प्रतिबद्धता व्यक्त गरे ।