इन्कारी बयान दिँदै आएका रवि आफ्नो हस्ताक्षरसहितको चेक देखेपछि झस्किए

इन्कारी बयान दिँदै आएका रवि आफ्नो हस्ताक्षरसहितको चेक देखेपछि झस्किए

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछाने पक्राउ परेलगत्तै उनीविरुद्ध रुपन्देही, चितवन, काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।


प्रहरी हिरासतमा रहेका लामिछानेले अहिलेसम्म कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् । उनले दुवै ठाउँमा सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिलेसमेत सहकारी ठगीमा उनको संलग्नता नरहेको रिपोर्ट तयार गरेको थियो ।

तर, सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका लामिछाने त्यहाँ जिल खाएका छन् । सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिइरहेको अवस्थामा अनुसन्धान अधिकारीहरुले चेक देखाएपछि लामिछाने अक्कनबक्क परेका थिए । उक्त चेक लामिछाने आफैंले हस्ताक्षर गरी सुप्रिम सहकारीलाई दिएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आफैंले हस्ताक्षर गरी सुप्रिमलाई दिएको चेक देखेपछि लामिछाने केही समय अलमलमा परेका थिए । ती अनुुसन्धान अधिकारीका अनुसार त्यसपछि लामिछानेले आफ्नो चेक दुरुपयोग भएको जवाफ दिए । गोर्खा मिडियामा कार्यकारी निर्देशक रहेको बेला कहिलेकाहीँ खाली चेकमा समेत हस्ताक्षर गरेर छाड्ने गरेको र त्यो चेक त्यतिबेला नै दुरुपयोग भएका हुनसक्ने लामिछानेले बयानका क्रममा बताएका थिए ।