काठमाडौं । पछिल्लो समय देशभरको तापक्रम दिनहुँजसो घटिरहेको छ । चिसो बढेसँगै तापक्रममा गिरावट आएको हो ।
सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल सुरु भएयता काठमाडौंमा मापन गरिएको मध्ये यो कम तापक्रम हो ।
हिजो सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.७ डिग्री सेल्सियस छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.८ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम –३.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यही मंसिर ४ गते जुम्लाको न्यूनतम तापक्रम –४ डिग्री सेल्सियस थियो ।
सोमबार डडेलधुराको न्यूनतम तापक्रम ५।९, ताप्लेजुङको ७.८, वीरेन्द्रनगरको ८.७, ओखलढुंगाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ६, ताप्लेजुङको ९.५, वीरेन्द्रनगरको ८.३, ओखलढुंगाको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।