सरकारका गलत क्रियाकलापविरूद्ध कांग्रेसले आन्दोलन थाल्ने

सरकारका गलत क्रियाकलापविरूद्ध कांग्रेसले आन्दोलन थाल्ने

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मुद्दा लगाएको भन्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेतारकार्यकर्तालाई सुनियोजित रूपमा सरकारले झुठा मुद्दा लगाउने, दमन गर्ने गरेकोले चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णयमा पार्टी पुगेको हो। कांग्रेसले सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको पनि आरोप लगाएको छ।

‘सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म र भावनाविपरीतका विधेयक तथा जनविरोधी क्रियाकलापविरूद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। तर कांग्रेसले विरोधका कार्यक्रम के गर्ने र कहिले गर्ने भन्नेबारे प्रष्ट खुलाएको छैन। उपसभापति विजयकुमार गच्छदारलाई ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगाएपछि कांग्रेसले सदन र सडकमा आन्दोलन गरेको थियो।